Thaha

Saturday 21 September - 6:26 pm NST

नेपाल धर्मनिरपेक्ष राष्ट्र, राष्ट्रिय जनावर गाई,  आमा वा बाबुको नामबाट नागरिकता

काठमाण्डौं, २८ भदौ । नेपाल धर्मनिरपेक्ष राष्ट्र नै हुने भएको छ । धर्म निरपेक्षताको ब्याख्या सहितको संशोधन पारित भएको छ । राप्रपा नेपालका कमल थापा लगायतले संशोधन प्रस्ताव राख्दै हिन्दू राष्ट्र हुने भन्ने संशोधन संविधान सभाको बहुमतले अस्वीकृत गरेको हो । संविधानसभाले देवनागरी लिपीमा लेखिने नेपाली भाषा सरकारी कामकाजको भाषा हुने लगायतको व्यवस्था पारित गरेको छ । धारा ७ सरकारी कामकाजको भाषा संशोधनका लागि श्याम श्रेष्ठ, शिवलाल थापा, यशोदाकुमारी लामा, गोपाल दहितले संशोधन प्रस्ताव राख्नुभएको थियो । त्यस्तै राष्ट्रिय झण्डा परिर्वतन नहुने भएको छ ।  भने राष्ट्रिय जनावर गाई नै हुने भएको छ । धारा ९ मा रहेको राष्ट्रिय जनवारमाथि  सभासद शिवलाल थापा, यशोदाकुमारी थापा मगर, एशोदा लामालगायतले राष्ट्रिय जनावर गैँडा हुनुपर्छ भन्ने संशोधन संविधान सभाले अस्वीकृत गरेको हो । नेपालको राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रंग सिम्रिक, राष्ट्रिय जनावर गाई र राष्ट्रिय पक्षी डाँफे हुनेछ’ भन्ने धारा संशोधन सहित पारित भएको हो । त्यस्तै दौरा सुरूवाल र गुन्यु चोली राष्ट्रिय पोशाक बनाउनुपर्छ भन्ने सभासद कुमार खड्काको संशोधन प्रस्ताव पनि अस्वीकृत भएको छ । जसका कारण सबै समुदायले आ आफ्नो पोशाकमा स्वतन्त्रता पाउने भएका छन् । धारा १२ मा रहेको वंशीय आधार तथा लैंगिक पहिचान सहितको नागरिकताको विषयमा वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिले आमा वा बाबुको नामबाट लैंगिक पहिचान सहितको नेपालको नागरिकताको प्रमाणपत्र पाउन सक्नेछ’, भन्ने व्यवस्थालाई संविधान सभाले पारित गरेको छ । गैरआवासीय नागरिकले नागरिकता पाउने प्रस्ताव भने बहुमतले स्वीकृत गरेको छ ।  त्यस्तै धारा १६ मा सम्मानपूर्वाक बाँच्न पाउने हकका बारेमा सभासद अनुराधा थापाले दर्ता गराएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । उहाँले देशको हित विपरित विदेशीसँग सन्धि सम्झौता, भ्रष्टाचारी, मानव हत्या, आगजनी तथा अन्य मानवताविराधी गम्भीर अपराध गर्नेलाई मृत्युदण्डसमेतको सजाय’ माग गर्नु भएको थियो ।